Breaking
March 15, 2026

प्रचण्डबारे बाबुरामः बेइमानहरूबाट ठगिएँ

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरूसँग एकता र सहकार्य गर्ने सम्भावना नरहेको स्पष्ट पारेका छन् । बुधवार नेपाल समाजवादी विद्यार्थी युनियनको दोस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै अध्यक्ष भट्टराई पुराना राजनीतिक दलहरू सुध्रिने अवस्था नरहेकोले वैकल्पिक नयाँ शक्तिहरूसँग सहकार्य गरेर मुलुकलाई विकल्प दिनुपर्ने बताएका हुन्।

उनले बेपत्ता पारिएका परिवारलाई न्याय दिन माओवादी केन्द्रसँग सहकार्य गरिएको भए पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूलाई नै सिद्ध्याउने षड्यन्त्रमा लागेको उनको आरोप छ । उनले सहकार्य गरेर गल्ती नगरेको भए पनि बेइमानहरूबाट ठगिएको टिप्पणी गरे ।

मधेसवादी र क्षेत्रीय दलहरू आन्दोलनबाट आएको हुनाले सहकार्य गरिएको भए पनि अब सहकार्यको कुनै सम्भावना नरहेको समेत भट्टराईले स्पष्ट पारे । उनले वर्तमान व्यवस्था र संविधानको रक्षाका लागि विगतमा पटक पटक अन्य दलहरूसँग सहकार्य गरे पनि उपयोगी नभएको अध्यक्ष भट्टराईको निष्कर्ष छ ।

अध्यक्ष भट्टराईले भने, ‘हामीले जुन वैकल्पिक शक्ति निर्माण गरेका छौँ । त्यसमा केही बाङ्गो टिंगो भयो । त्यसमा हामीले बेइमानहरूसँग सहकार्य गरेर ठगिएका मात्र हौँ हामीले अरू केही गल्ती गरेका होइनौँ । हामीले सिद्धान्त र विचार छोडका होइनौँ । खालि के हो भनेदेखि संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि शान्ति प्रक्रियाका केही कामहरू बाँकी पनि छन् । राजावादीहरूले त्यसलाई मन पराएका छैनन् । अर्को हाम्रो ठुलो छिमेकीले हाम्रो संविधानलाई स्वीकार पनि गरेको छैन । यस्तो बेलामा हामी भित्रै गडबडी भइरह्यो भने यही पनि गुम्छ कि भनेर हामीले तिनलाई साथ दिएको हो । तर हामीले एकता भनेका छैनौँ ।’

उनले थपे, ‘बाबुराम भट्टराईले पुराना पार्टीहरूसँग मिल्ने कहिले भनेकै छैन । सहकार्य गरेको हो त । मधेसवादी र क्षेत्रीय दलहरू समेत आन्दोलनबाट आएको हुनाले सहकार्य गरिएको हो । तर उहाँहरू धेरे पर पुगिसक्नुभएको छ । त्यसैले अर्को माओवादी आन्दोलनका नेतालाई त म राम्रोसँग चिन्छु । त्याभित्र भएको सङ्कट तपाईँले देख्नुभएकै छ । जति छोपे पनि बिरालोले म्याउँ गरिहाल्छ । उहाँले बेला बेला म्याउँ गरिराख्नुभएको छ । बेपत्ता परिवारलाई न्याय दिनको लागि उहाँहरूसँग हामीले सहकार्य गरेका हौँ । तर उनीहरू हामीलाई सिद्ध्याउने षड्यन्त्रतिर लागे त्यस कारण त्यो कुरा सफल नभएको हो । अहिले हामी कतै गएका छैनौँ । जानेवाला छैनौँ । पुरानाहरूसँगको सहकार्य सफल र उपयोगी भएन । यसबाट पाठ सिकेर पुरानाहरू सुध्रिने र सहकार्य गर्ने सम्भावना रहेन । वैकल्पिक नयाँ शक्तिहरूसँग सहकार्य गरेर देशलाई विकल्प दिनुपर्छ भन्ने हाम्रो पछिल्लो निष्कर्ष हो ।’

उनले अब युवाहरूले राजनीति गर्नुपर्ने उल्लेख गर्दै समयानुकूल राजनीति गर्न युवाहरूलाई आग्रह गरे ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *