Breaking
December 31, 2025

मुलुकमा परिवर्तन गर्न यो सरकार बनेको हो : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताएका छन् । नेपाल उद्योग परिसंघका प्रतिनिधिसँग शुक्रबार बिहान छलफल गर्दै ओलीले यसअघि नै आफू प्रधानमन्त्री बनिसकेकाले फेरि प्रधानमन्त्री बन्नका लागि मात्रै आफू नआएको तर्क गरे । 

‘मुलुकको प्रधानमन्त्री बन्नका लागि मात्र म आएको होइन । समस्या देखेर, समस्याको समाधान गर्न, परिवर्तन ल्याउनुपर्छ, काम गर्नै पर्छ भनेर आएको हुँ’ ओलीले भने । सरकारले निजी क्षेत्रको साथ सहयोग र समर्थन चाहेको भन्दै प्रधानमन्त्री ओलीले सहयोग गर्न उद्योगी व्यवसायीसँग आग्रह गरे । ओलीले कुनै पनि करका विषय अनुहार हेरेर गर्न नहुने बताउँदै गलत नीति लिएको बेला निजी क्षेत्रले त्यसको विरोध गर्न सक्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक रहेकोमा जोड दिँदै मौद्रिक नीति कठोर हुन नहुने बताए । प्रधानमन्त्री ओलीलाई परिसंघको तर्फबाट बधाई तथा शुभकामना दिँदै अध्यक्ष राजेशकुमार अग्रवालले विगत तीन वर्षदेखि शिथिल अर्थतन्त्रलाई उकास्न सरकार चुक्न नहुने बताए ।

उत्पादनशील र निर्माण क्षेत्र बढी प्रभावित हुँदा बाह्य क्षेत्र उत्साहजनक भए पनि आन्तरिक अर्थतन्त्र अझै समस्यामा रहेको दृष्टान्त दिँदै अध्यक्ष अग्रवालले निजी क्षेत्रको मनोबल बढाउनुपर्नेमा जोड दिए । विगतका सङ्कुचनकारी मौद्रिक नीतिका कारण समग्र बजार मागमा सङ्कुचन आएको र अर्थतन्त्र शिथिल बन्न पुगेको अध्यक्ष अग्रवालको भनाई छ । 

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *