Breaking
December 31, 2025

‘शान्तिबिना स्थायित्व र स्थायित्वबिना समृद्धिको परिकल्पना गर्न सकिन्न


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डिपी अर्यालले मुलुकमा शान्ति, स्थायित्व र समृद्धिबारे फेरि बहस गर्नुपर्ने अवस्था आउनु चिन्ताजनक भएको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै उपसभापति अर्यालले २१ औं शताब्दीमा विश्व प्रविधि र विकासमा निकै अगाडि बढिसक्दा नेपालमा अझै शान्ति, स्थायित्व र समृद्धिको विषयमा बहस गर्नुपरेको अवस्थाप्रति प्रश्न उठाए । उनले यस्तो अवस्था किन र कसरी आयो भन्ने विषयमा गम्भीर बहस आवश्यक भइसकेको बताए ।
उनले भने, ‘२१ औं शताब्दिको विश्व बजार कहाँ पुगिसक्यो प्रविधिमा, विकासमा, आज हामी आएर शान्तिको लागि,समृद्धिको लागि, स्थायित्वको लागि बहस गर्नुपर्ने अवस्थामा छौं । यो अवस्था कसले ल्यायो? किन आयो? यसको उत्तर कसले दिने हो यसमा पनि बहस आवश्यक परिसकेको देखिन्छ ।’
यसै कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले शान्ति, स्थायित्व र समृद्धि एक–अर्कासँग गहिरो रूपमा सम्बन्धित रहेको स्पष्ट पारे । उनले शान्तिबिना स्थायित्व सम्भव नहुने र स्थायित्वबिना समृद्धिको परिकल्पना गर्न नसकिने बताए ।
महतले कानुनी शासनको सुनिश्चितता र त्यसलाई सबैले स्वीकार गर्ने पद्धतिले नै शान्ति र स्थायित्व सुनिश्चित गर्ने उल्लेख गरे । विधिको शासन, कानुनी शासन, जनअनुमोदित सरकार, संसद र स्वतन्त्र न्यायालय लोकतान्त्रिक व्यवस्थाका आधारभूत स्तम्भ भएको बताउँदै उनले यी मूल्य र मान्यतालाई स्वीकार नगर्दा समस्या दोहोरिरहने धारणा राखे ।
उनले भने, ‘शान्तिबिना स्थायित्व र स्थायित्व बिना समृद्धिको परिकल्पना गर्न सकिन्न । मूलभूत कुरा के हो भने कानुनी शाषनको सुनिश्चता र त्यसलाई सबैले स्वीकार गर्ने पद्धतिले नै शान्ति सुनिश्चित गर्छ, स्थायित्व सुनिश्चित गर्छ । त्यसले समृद्धिको बाटो कोर्छ भन्ने मान्यता हो । विधिको शासन, कानुनी शासन, जन अनुमोदित सरकार संसद र स्वतन्त्र न्यायलय यो परिकल्पना लोकतान्त्रिक व्यवस्थामा गरिएको छ । यो व्यवस्थालाई हामीले स्वीकार नगर्ने हो भने समस्या आइरहन्छ । ’

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *