Breaking
December 31, 2025

भानु जन्मजयन्तीको अवसरमा १३ छात्रछात्रा पुरस्कृत

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको दुई सय ११औं जन्मजयन्तीका अवसरमा १३ जना छात्रछात्रा पुरस्कृत भएका छन्। महोत्तरीको बर्दिबासमा बर्दिबास हेल्प फाउण्डेशनले बर्दिबास नगरपालिकाको सहयोगमा शनिबार आयोजना गरेको तेस्रो नगरस्तरीय अन्तर मावि कविता प्रतियोगितामा उनीहरू पुरस्कृत भएका हुन्।

आदिकवि भानुभक्तको जीवनी, उत्प्रेरणा र रचना क्षेत्रमा उनको योगदानका विषयवस्तु समेटिएका कविता लेखन तथा वाचन प्रतियोगितामा प्रमिला श्रेष्ठ, प्रतिज्ञा बराल र अमिशा माझीले क्रमशः पहिलो, दोस्रो र तेस्रो पुरस्कार प्राप्त गरेका छन्। पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु १५, १० र सात हजार नगद र कदरपत्र प्रदान गरिएको छ। यसैगरी, १० जनालाई जनही एक–एक हजार नगद र कदरपत्र प्रदान गरिएको छ।

साहित्य साधकहरू प्रल्लास सिन्धुलीय, माधव काफ्ले र मुकुन्द पौडेल सम्मिलित निर्णायक मण्डलले उत्कृष्ट रचना छनोट गरेको हो। त्यस अवसरमा राष्ट्रिय विभूतिहरूको सम्झनामा यस्ता कार्यक्रम आयोजना गर्ने सामाजिक संघसंस्थालाई निरन्तर सहयोग गरिने बर्दिबास नगरप्रमुख प्रहलादकुमार क्षत्रीले बताए।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *