Breaking
March 13, 2026

विद्यार्थीका अधिकार, भविष्य र समृद्धिका लागि सकारात्मक कदम चाल्न आवश्यक : मन्त्री यादव

पर्सा (वीरगञ्ज), २६ फागुन : खानेपानी मन्त्री प्रदीप यादवले विद्यार्थीहरूका अधिकार, भविष्य र समृद्धिका लागि सकारात्मक कदम चाल्न अति आवश्यक रहेको बताउनु भएको छ ।
आज वीरगञ्ज महानगरपालिकामा समाजवादी विद्यार्थी युनियनद्वारा आयोजित होली मिलन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले विद्यार्थीहरूका चाहना, आकांक्षा र भावना अनुरूप नीति निर्माण गरी कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “विद्यार्थी राष्ट्र निर्माणका आधारशिला हुन् । उनीहरूको अधिकार, भविष्य र समृद्धिका लागि सकारात्मक कदम चाल्न जरुरी छ ।”
कार्यक्रममा मन्त्री यादवले विगतको तुलनामा अहिलेका विद्यार्थी झन् सचेत, जागरूक र परिवर्तनमुखी रहेको हुँदा देश निर्माणमा उनीहरूले महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गर्नुभयो । देशको भविष्य निर्माण गर्ने र परिवर्तनका संवाहक विद्यार्थीहरूलाई साथ र सहयोग गर्न आफू सधैं तयार रहेको मन्त्री यादवले बताउनुभयो ।
विद्यार्थीहरूका समस्या समाधान गर्न जनता समाजवादी पार्टी सहित आफु व्यक्तिगत रुपमा सधै प्रतिबद्ध रहेको उल्लेख गर्नु हुँदै मन्त्री यादवले भन्नुभयो, “तपाईहरुका समस्या समाधानका लागि जसपा तयार छ । तपाईहरुलाई के सहयोग गर्नु पर्छ खुलेर जानकारी गराउनु होला । समस्या समाधानका लागि हामी सधै तयार रहेको छौँ ।”
वीरगञ्जको ठाकुराम क्याम्पसमा शुद्ध खानेपानीको व्यवस्था गरिने समेत मन्त्री यादवले विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, “टयुबेलको व्यवस्था गरेर भएपनि यस क्याम्पसमा शुद्ध खानेपानीको व्यवस्था गर्छु, यो मेरो प्रतिवद्धा भयो ।” क्याम्पसका जिर्ण रहेका भौतिक संरचनाहरुको पुर्न: निर्माण गरीने समेत उहाँले जानकारी दिनुभयो । ठाकुराम क्याम्पसमा बिद्यार्थी सँगसँगै कर्मचारीहरु पनि आफ्नो कामको जिम्मेवारीमा निपूर्ण हुनु पर्नेमा मन्त्री यादवले जोड दिनुभयो । उहाँले भन्नुभयो, “क्याम्पसका कतिपय कर्मचारीहरु रजानीति गर्ने नेताका रुपमा प्रस्तुत हुने गरेका छन् । त्यो गलत हो । कर्मचारीले राजनिती गर्नु हुँदैन ।”
क्याम्पसमा बैज्ञानिक शिक्षा प्रणाली लागु हुनु पर्ने मन्त्री यादवको भनाई थियो । मन्त्री यादवले ठाकुरराम क्याम्पसमा आउँदो चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभेच्छा व्यक्त गर्दै विद्यार्थीहरूलाई विगतका कमजोरी सुधार गर्दै, रिस–राग त्यागेर निर्वाचनमा संलग्न हुन आग्रह गर्नुभयो ।
यसै अवसरमा मन्त्री यादवले आउँदै गरेको रङ्ग र उमङ्गको पर्व होलीको समेत सबैमा शुभकामना व्यक्त गर्नु भएको छ । समाजवादी विद्यार्थी युनियन, पर्साका अध्यक्ष हरिन्द्र साहको अध्यक्षतामा आयोजना गरिएको उक्त समारोहमा विशिष्ट अतिथि केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनलाल चौधरी, पूर्व प्रदेशसभा सदस्यद्धय जन्नत अंसारी, भीमा यादव रहनु भएको थियो ।
अतिथीहरुमा संघीय परिषद सदस्य तबरेज अहमद, मुकेश द्विवेदी, आमिर आलम, जसपा जिल्ला अध्यक्ष सिंघासन साह तेली, युवा महासचिव सरोज यादव, बिद्यार्थी महासचिव निखिल बर्णवाल, जसपा नगरअध्यक्ष इश्वर यादव तथा संघीय शिक्षक फोरम अध्यक्ष हरेन्द्र चौरसिया लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *