Breaking
September 19, 2024

ज्यान मार्ने धम्कीबीच ‘सिकन्दर’को सुटिङ गर्दै सलमान खान

लगातार ज्यान मार्ने धम्कीका बीच बलिउड अभिनेता सलमान खानले जुन १८ बाट मुम्बईमा आफ्नो आगामी फिल्म ‘सिकन्दर’ को छायांकन सुरु गर्दैछन् ।

यो फिल्ममा सलमानको अपोजिटमा अभिनेत्री रश्मिका मन्दाना देखिने भएकी छन् । पहिलो सेड्युलमा उनले आफ्ना केही दृश्य पनि खिच्नेछिन् ।

यो समय तालिकामा निर्माताले एरियल एक्सनका दृश्य छायांकन गर्ने योजना बनाएको छ । एआर मुरुगादासले निर्देशन गर्ने यो फिल्म आगामी वर्षको इदमा रिलिज हुँदैछ ।

पछिल्लो ३ महिनामा सलमानमाथि दुईपटक आक्रमणका प्रयास भएका छन् । यसअघि १४ अप्रिलमा उनको बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्टमा बिहान ५ बजे गोली प्रहार भएको थियो ।

मेको अन्त्यमा, नवी मुम्बई प्रहरीले पनवेलमा सलमानको कारमा हमला गर्ने योजना बनाएका लरेन्स बिश्नोईको गिरोहका चार जनालाई पक्राउ गरेको थियो ।

यस्तो अवस्थामा सलमानका लागि मुम्बईमा नै फेरि सुटिङ सुरु गर्नु महत्वपूर्ण कुरा हो । छायांकन सेटमा कलाकारका लागि कडा सुरक्षाको प्रबन्ध गरिने निर्माताको तयारी छ ।

यसबीचमा सलमानले दुई पटक विदेश भ्रमण पनि गरिसकेका छन् । यसअघि उनी गोलीकाण्ड भएको ५ दिनपछि एक कार्यक्रममा सहभागी हुन दुबई पुगेका थिए । हालै उनी अनन्त अम्बानी र राधिका मर्चेन्टको दोस्रो प्रि–वेडिङ समारोहमा सहभागी हुन युरोप गएका थिए ।

फिल्म ‘सिकन्दर’मा खलनायकको रोलमा साउथका चर्चित अभिनेता सत्यराजले अभिनय गर्ने निश्चित छ । सत्यराजले ‘बाहुबली’ फ्रेन्चाइजमा कटप्पाको भूमिका निर्वाह गरेका थिए ।

निर्माता साजिद नाडियाडवालासँग सलमानले यसअघि ‘जुडवा’, ‘मुझसे शादी करोगी’ र ‘किक’जस्ता धेरै हिट फिल्म दिएका छन् । ‘सिकन्दर’भन्दा पहिले मुरुगादास र सलमानले सन् २०१४ मा रिलिज भएको फिल्म ‘जय हो’ मा पनि सँगै काम गरेका थिए । त्यो फिल्मका लेखक मुरुगादास थिए ।

Share the Post

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *