Breaking
March 15, 2026

‘मरेर लैजानु केही छैन, जोगाइदिनु कसलाई पो छ र!’

तपाईंलाई सबभन्दा रमाइलो के गर्दा लाग्छ?

मलाई काम गर्दा नै सबभन्दा रमाइलो लाग्छ। त्यसमा पनि फर्निचर उद्योग मन पर्थ्यो। त्यही भएर उद्योग खोलेको थिएँ। अहिले छोराले चलाउँछन्।

नाचगान गर्ने, सिनेमा हेर्ने कत्तिको गर्नुहुन्छ?

घरको जिम्मेवारीले सानैदेखि अर्काको मुलुकमा गएर परिश्रम गर्नुपर्‍यो, रमाइलो भन्ने नै हरायो। भारतमा छँदा हिन्दी सिनेमा हेरेको थिएँ।

पछिल्लो पटक हेरेको सिनेमा कुन थियो?

दास्तान, मदर इण्डिया यिनै सम्झना छ।

तपाईंलाई सबभन्दा के खान मन पर्छ?

खानेकुरा त सबै मन पर्छ, धेरै मनपर्ने भनेको दूध, दही हो। बरू दाल, तरकारी नभए पनि हुन्छ तर दूध, दही नभई भात खान सक्दिनँ। 

तपाईंको परिवारमा कोको हुनुहुन्छ?

श्रीमती, दुई भाइ छोरा, एक छोरी बुहारी र नातिनातिनी छन्।

परिवारबाट कत्तिको सन्तुष्टि हुनुहुन्छ?

सन्तुष्टि नै छु। जेठो छोरा जापान छन्। पहिले गाडी थियो भाडामा चल्थ्यो। कालिगण्डकी करिडोर खुलेपछि गाडी भाडामा जान छोड्यो यहाँ बसेर हुँदैन भनेर जापान गयो। कान्छो छोराले गाउँमै फर्निचर उद्योग चलाएका छन्। राम्रै छ।

परिवारमा कत्तिको मेलमिलाप छ?

मेलमिलाप छ। सँगै बसे पो ठाकठुक हुन्थ्यो होला। हामी त सबै अलग अलग बस्छौं, आफ्नै कमाइ खान्छौं त्यसोगर्दा कुनै बेमेल छैन।

तपाईंको स्वास्थ्य कस्तो छ?

स्वास्थ्य त त्यति राम्रो छैन। तीन वर्ष पहिले मेरूदण्डमा ट्युमर पलाएपछि अपरेसन गरेको थिएँ। त्यसपछि जरकमरक काम गर्न सक्दिनँ। घोप्टो पर्न मिल्दैन। अपरेसन गरेपछि ब्लड प्रेसर पनि बढेको छ। त्यसको औषधि खान थालेको छु। अपरेसन गरेपछि एक्सरसाइज गर्न बन्द भएर होला पेट पनि बढ्दै गएको छ।

रातिमा निद्रा कत्तिको लाग्छ?

निद्रा त धेरै लाग्छ। राती ९/१० बजेदेखि बिहान पाँच बजेसम्म सुत्छु।

ठिक्क पैसाको यस्तो किन्न पाए हुन्थ्यो भन्ने केही छ?

यस्तो लगाउन पाए हुन्थ्यो, खान पाए हुन्थ्यो भन्ने चाहना पूरा गर्न नसक्ने स्थिति छैन। सानैदेखि आफैले कमाउन थालेको भएर होला केही चिज मन पर्‍यो भने किनिहाल्छु। मरेर लैजानु केही छैन, जोगाइदिनु कसलाई पो छ र!

तपाईं सबभन्दा धेरै खुसी भएको क्षण कहिले थियो?

धेरै खुसी भएको क्षण त कहिले भयो र? केटाकेटी उमेरमै अर्काको देशमा काम गर्नुपर्‍यो। युवा अवस्था पनि उतै बित्यो। चाडपर्वमा घर आउन पाउँदा खुसी लाग्थ्यो। त्यसपछि छोराछोरीले भनेको मान्ने समयमा खुसी भइए होला, त्यसपछि त त्यस्तै हो।

तपाईंको सबभन्दा धेरै चित्त दुखेको क्षण नि?

म परिवारको जेठो छोरो १६ वर्षको हुँदा बुवा बित्नुभयो। त्यसपछि भाइबहिनी सबैको विवाह दान आफैले गरिदिएँ। तर गरेर पनि गरेजस्तो देखिने रहेनछ। त्यो कुराले चित्त दुखेको थियो। कर्म गरेर त्यो अनुसारको फल नपाउँदा, जस नपाउँदा चित्त दुख्ने रहेछ।

तपाईंलाई पिरोलिरहेको, यस्तो भइदिए हुन्थ्यो भन्ने केही छ?

अहिले त त्यस्तो केही छैन। सबै सन्तुष्टि छ। छोराछोरीको विवाह दान गरेर नातिनातिनी खेलाउन पाएकै छु। अहिलेसम्म पनि आफैले कमाएर खान सकेको छु, केहीको अभाव छैन।

आफ्नो गाउँ, टोल, समाज कस्तो लाग्छ?

हाम्रो टोल समाज त सबै दाजुभाइले बनाएको हो। सबै राम्रो लाग्छ। मिलेर बसेका छौं।

टोल समाजको सबभन्दा के कुरा मन पर्छ?

दाजुभाइ एकैठाउँ भएकोले कसैलाई केही अप्ठ्यारो साँघुरो परेको बेला सबै एकजुट हुन्छन्, त्यो कुरा मन पर्छ।

मन नपर्ने कुरा नि?

एकै ठाउँमा नजिक बसेपछि कहिलेकाहीँ साँध सिमानामा ठाकठुक हुन्छ। यहाँ मात्र नभएर त्यो जहाँ पनि हुन्छ स्वाभाविक हो।

तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ?

नेपालको राजनीति त मलाई फोहोरी लाग्छ। नेताहरू जतिले मिलेर कुम्ल्याउने। जनताहरू मर्ने। कुम्ल्याउन पाए सबै मिल्ने नपाए एक आपसरमा लड्ने। कुनै पनि पार्टीको माथिल्लो नेतृत्व ठीक छैन।

तपाईंलाई मन पर्ने नेता कोही छ?

अहिलेको अवस्थामा त कोही पनि मन पर्दैन। रवि लामिछाने पुराना र बुढा नेतालाई गाली गर्दै आएका थिए। उनी ठीक छन् कि भन्ने लागेको थियो तर  सत्ताकै लागि तिनै पुराना पार्टीका बुढा नेतासँग मिल्न पुगे। सबै नेता एउटै खेतका मूला जस्ता लाग्न थाल्यो। नेता भनेको देशभक्त हुनुपर्छ, तर अहिलेका नेता भन्नेहरू कसैमा देशभक्तिको गुण देख्नुहुन्छ र?

तपाईंले गएको चुनावमा कसलाई भोट हाल्नुभएको थियो?

गएको चुनावमा त एमालेलाई भोट हालेको थिएँ।

अहिले चुनाव भयो भने कसलाई भोट दिनुहुन्छ?

त्यो त सोच्नुपर्छ। दलभन्दा पनि कस्तो मान्छे उठ्छ त्यसैको आधारमा भोट हाल्ने हो।

सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?

सरकारले त धेरै नीति नियम फेरबदल गर्नुपर्छ। तराईको खेतीयोग्य जमिन घडेरी बने। पहाडका जग्गा बाँझो रहे। यस्तो कामलाई सरकारले रोक्नुपर्छ। पहाडमा बाँदरले बस्न दिँदैन खेती गरेर पनि स्याहार्न दिँदैनन्। पहाडमा पनि विदेशबाटै खाद्यान्न ल्याउनु परेपछि यो देशमा कहिले विकास हुन्छ। सरकारले खेती योग्य जमिनमा खेती नै गर्ने र पहाडमा पनि कसैले बाँझो छोड्न नपाउने नीति ल्याउनुपर्छ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *