Breaking
December 31, 2025

साउन ११ गतेबाट रिलिज हुने फिल्म ‘ईश्वर’ले लगानी नउठ्ला भन्ने डर छैनः निर्माता हरिबहादुर थापा

व्यापारी पृष्ठभूमिका हरिबहादुर थापा यही साउन ११ गतेबाट रिलिज हुने फिल्म ‘ईश्वर’ मार्फत निर्माताका रुपमा ‘डेब्यू’ गर्दैछन् । फिल्ममा उनले विद्यालयको प्रधानाध्यापकको भूमिकामा पनि अभिनय गरेका छन् ।

हरिका अनुसार फिल्ममा काम गर्ने उनको इच्छा धेरै अघिदेखिको हो । त्यो इच्छा भने अहिले आएर ‘ईश्वर’मार्फत पुरा गरेका छन् । ‘ईश्वरको कथाले मलाई तान्यो । यो सामाजिक कथामा आधारित फिल्म हो । यसमा अन्तरजातीय विवाह, देशमा भएको विसंगति विकृति, राजनीतिका कुरा देखाइएको छ । फिल्मले जातीय विभेद नगरौं भन्ने सन्देश दिएको छ’, फिल्मबारे हरि भन्छन् ।

उनका अनुसार फिल्ममा आर्यन केटा पात्र र मंगोलियन केटी पात्रबीचको प्रेम देखाइएको छ । ‘गुरुङ समुदायमा रहेको मामा र फुपुको छोराछोरीको प्रेम फिल्ममा छ । दर्शकहरुले सामाजिक सन्देश पनि पाउनुहुनेछ’, उनले भने ।

फिल्ममा पहिलो पटक लगानी गर्दा हरिलाई उनकै भनाई गाह्रो अनुभव छैन । ‘फिल्म निर्माण गर्नु सोचे जस्तो त पक्कै होईन । तर ईश्वरको हकमा भने मलाई गाह्रो भएन । निर्देशक, कलाकार र प्राविधिकको राम्रो सहयोग पाएँ । अहिले प्रमोसनमा पनि उत्तिकै साथ पाइरहेको छु’, उनी भन्छन् ।
हरि फिल्म हेरिरहँदा दर्शकले आफूलाई ‘कनेक्ट’ गर्ने दाबी गर्छन् । ‘नितान्त नेपाली परिवेशमा फिल्म बनाएका छौं । हामी नेपाली भएर बुझ्नु पर्ने कुराहरु फिल्ममा छ । त्यसकारणले पनि दर्शकले आफूलाई फिल्ममा पाउनुहुनेछ’, उनी भन्छन् ।

‘ईश्वर’बाट आफ्नो लगानी उठ्नेमा हरि ढुक्क छन् । ‘लगानी नउठ्ला भन्ने डर छैन । किनभने फिल्म, कथा, कन्टेन्ट, कलाकार सबै राम्रा छन् । दिग्गज कलाकारको अभिनयले फिल्मको हाइप बढेको छ’, उनको दाबी छ ।

फिल्ममा प्रेम, एक्सनदेखि फिल्मलाई चाहिने सबै कुरा जोडिएकाले फिल्म दर्शकले मनपराउनेमा उनी आशावादी छन् । ‘भोलिका दिनमा ईश्वरले राम्रो परिणाम ल्यायो भने फिल्ममा लगानीको निरन्तरता दिनेछु’, उनी भन्छन् । फिल्म ‘ईश्वर’मा राजु गिरीको निर्देशन छ ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *