Breaking
December 26, 2025

कठपुतली सरकार ल्याउने चुनावलाई वहिष्कार गर्नुपर्छ : सीपी गजुरेल

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेलले साम्राज्यवादीले वैधानिकता हासिल गरी एउटा कठपुतलीलाई ल्याएर सरकारमा राख्नको लागि मात्र निर्वाचन गर्न लागेको बताएका छन् ।

शुक्रबार १३३ औं माओ दिवसको अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले अहिले चुनावको विषय नेपालमा विचित्र ढंगले आएको भन्दै त्यसको बहिस्कार गर्नुपर्ने बताए ।

उनले भने,‘अहिले चुनावको जुन विषय नेपालमा आइराखेको छ । त्यो विचित्र ढंगले आएको छ । चुनाव हुन नियमित ढंगले समय पुगेको हुनुपर्छ । समय पुगेको त छैन, दुई वर्ष बाँकी नै थियो । त्यो दुई वर्ष बाँकी हुँदै चुनाव गर्नुको कारण के हो कसैलाई थाहा छैन । पत्रकारले सोधे भने प्रधानमन्त्री सुशीला कार्कीले यो आवश्यक हो मात्र भनेर जवाफ दिने । चुनाव माग कसले गरेको छन् ? साम्राज्यवादीहरुलाई अहिले चुनाव चाहिएको छ । साम्राज्यवादीले विश्वास गरेका मान्छेलाई सरकारमा ल्याएर चुनाव गराउँछन् । वैधानिकता हासिल गर्न एउटा कठपुतलीलाई ल्याएर राख्न गर्न लागेका छन् । त्यसैले हामीले त्यसको बहिस्कार गर्नुपर्छ ।’

त्यस्तै उनले नेपाली राजनीतिमा अहिले सिद्धान्तको विचलन व्यापक रुपमा भइरहेको पनि बताएका छन् । पार्टीका व्यक्तिहरु सिद्धान्तमा हिड्नुको सट्टा निषेधित गर्ने काममा जुटेको उनको भनाई छ ।

उनले भने,‘अहिले सिद्धान्तमा विचलन व्यापक रुपमा सबैतिर आइराखेको छ । कुनै पनि पार्टीका मान्छेहरु सिद्धान्तमा स्थिर भएर बस्न सक्दैनन् । बरु उनीहरुले नयाँ सिद्धान्त प्रतिपादन गरेका छन् । आफूलाई चाहिएको काम गर्ने केका लागि सिद्धान्त चाहियो ? सिद्धान्तलाई निषेध गर्ने उनीहरुको राजनीति हो । एक प्रकारले सिद्धान्तलाई कमजोर बनाउने काम गरिरहेको छन् ।’ सिद्धान्तको र विचारको रक्षा नगरे संसारमा प्रगति र क्रान्ति नहुने पनि उनले बताए ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *