Breaking
March 13, 2026

माननीय सोबिता गौतमले WHO काो ग्लोबल संसदीय संवादमा राख्नुभएको धारणा

सांसद सोबिता गौतमको डब्लूएचओमा विश्वव्यापी आह्वान: ‘स्वास्थ्यलाई शान्ति र न्यायको आधारशिला बनाऔं

जेनेभा, मे २१ —
संघीय सांसद तथा IPU स्वास्थ्य समितिकी सदस्य सोबिता गौतमले विश्व स्वास्थ्य संगठन सभाको संसदीय संवाद कार्यक्रममा बोल्दै विश्वभरका सांसदहरूलाई स्पष्ट आह्वान गरिन्: “ दृढताका साथ कानून बनाऔं, निर्भयतापूर्वक आवश्यक लगानी गरौं र स्वास्थ्यलाई शान्ति र न्यायको आधारशिलाको रूपमा संरक्षण गरौं।”
उनी भन्छिन्, सांसदहरू अब परिवेक्षक झै मात्र होइन, हामी उत्तरदायित्वको रक्षा गर्ने, समताका पक्षधर, र दूरगामी विकासका नेतृत्वकर्ता हौं।
विश्व स्वास्थ्य संगठन (WHO) र अन्तर-संसदीय संघ (IPU) को सहकार्यमा आयोजित यस संवादलाई उनले ऐतिहासिक पहलको रूपमा स्वागत गरिन्। उनले IPU ले आफ्नो स्वास्थ्य सल्लाहकार समूहलाई पूर्ण समिति बनाएको र आफू नेपालको प्रतिनिधिकारूपमा त्यस समितिको सदस्य हुन पाएकोमा गौरव अनुभव गरिन्। यस प्रकारको कार्यक्रमले संसदहरूलाई पनी स्वास्थ्य नीति निर्माणमा औपचारिक स्थान दिन थालेको महसुस गरेको बताइन् ।
गौतमले हालै पारित भएको WHO महामारी सम्झौताका सन्दर्भमा सांसदहरूको निर्णायक भूमिका रहेको स्पष्ट पारिन्। “यो सम्झौताले ठुलो काम सकिएको संकेत हैन, सुरुवात गरेको छ । अब आउने चरणहरूमा महामारीको सम्भावना भएका जैविक सामग्री र सम्बन्धित जानकारीको द्रुत, व्यवस्थित र समयमै आदानप्रदान र महामारीजन्य उत्पादन र सम्बन्धित लाभहरूको समयमै तथा न्यायोचित पहुँच सुनिश्चित गर्न पहुच र लाभ साझेदारी प्रणालीमा संवाद-वार्ता गर्नुपर्नेछ, विश्वव्यापी वित्तीय संयन्त्रमा बहस गर्नुपर्नेछ । सबैभन्दा महत्त्वपूर्ण सबै राष्ट्रको संसदबाट यो अनुमोदन हुनु आवश्यक छ,” उनले भनिन्।
उनले हाल केही दातृ निकायहरूले विदेशी सहायता कटौती गर्ने संकेत दिएकोप्रति चिन्ता व्यक्त गर्दै भनिन्, “नेपालजस्ता निम्न आय भएका देशहरूमा यसको गम्भीर असर पर्छ। भाइरसले सिमाना चिन्दैन, रोगले वर्ग हेर्दैन। जबसम्म हरेक राष्ट्र सुरक्षित हुँदैन, तबसम्म कुनै पनि राष्ट्र सुरक्षित हुँदैन ।”
राष्ट्रिय सन्दर्भमा उनले उल्लेख गरिन् कि नेपालको कुल बजेटमा स्वास्थ्यको हिस्सा अझै पनि ५ प्रतिशतभन्दा कम छ, जुन विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार निकै कम हो। उनले भनिन्, “स्वास्थ्य केवल खर्च होइन, यो भविष्यको लागि लगानी हो। अहिले लगानी गर्‍यौं भने भोलि खर्च घट्छ; तर अहिले कटौती गर्‍यौं भने भोलि त्यसको महगो मूल्य चुकाउनुपर्नेछ।”
त्यसैले स्वास्थ्य बजेट छुट्याउँदा सरकारले दीर्घकालीन सोच राख्नुपर्ने उनको विचार थियो।
अन्त्यमा गौतमले गहकिलो सन्देश दिइन् —
“हाम्रो विरासत के हो? हाम्रो कर्म नै हाम्रो विरासत हो । इतिहासले हामीले के बहस गरेका थियौँ होइन, के काम गर्यौँ भनेर सम्झन्छ। त्यसैले अब समय आएको छ — काम गरौं, अगाडि बढौं।”
उनले जोड दिइन् “संसद कार्यपालिकालाई जवाफदेही बनाउने मुख्य अंग हो। संसदको सक्रियता बिना कुनै पनि प्रतिबद्धता प्रभावकारी हुँदैन।”
WHO र IPU को संयुक्त पहलमा आयोजित यस संवाद कार्यक्रमले संसदलाई विश्व स्वास्थ्य संरचनाको मेरुदण्डको रूपमा स्थान दिएको उनको भनाई छ ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *