काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा अवतरणका क्रममा दुई हेलिकप्टर ठोक्किँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार मंगलबार बिहान ८ बजेर ११ मिनेटमा फिस्टेल एयर र डाइनास्टिक एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा भारतीय नागरिक वसन्त कुमार बालारामारामाडुको मृत्यु भएको तामाङले नेपाल न्युज बैंकलाई जानकारी दिए । दुर्घटनामा घाइते भएका शैलेश कृष्ण पटेललाई प्रभु हेलिकप्टरमार्फत उद्धार गरी लितिपुरको मेडिसिटी अस्पताल पु¥याइएको उनले बताए । पटेलसँग भारतीय राहदानी रहेको र उनी न्युजिल्यान्डका नागरिक भएको प्रहरीको भनाइ छ ।
दुर्घटनामा मृत्यु भएका व्यक्तिको शव लुक्लास्थित अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न हेलिकप्टरका पाइलटहरू भने सकुशल रहेको प्रहरी निरीक्षक तामाङले बताए ।
दुर्घटनाका बेला दुवै हेलिकप्टरमा कति यात्रु सवार थिए भन्ने विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीको भनाइ छ ।