काठमाडौँ । अम्बे स्टील्सको उत्पादक कम्पनी जय अम्बे स्टील्स लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासन गर्ने भएको छ । अम्बे ग्रुप अन्तर्गतको उक्त कम्पनीले आईपीओ ल्याउने योजना सहित एनआईबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो । कम्पनीको साधारण सभाबाट विशेष प्रस्ताव पारित भए पश्चात् तोकिने साधारण शेयर प्रिमियम मूल्यमा बिक्री गर्नेगरी बिक्री प्रबन्धकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । दुई संस्थाबिच यससम्बन्धी सम्झौता पत्रमा बुधबार हस्ताक्षर भएको छ ।
नेपालकै ठुलो व्यवसायिक समूहमध्येको एक अम्बे ग्रुप अन्तर्गत यो कम्पनी सञ्चालन हुँदै आएको छ । उक्त समूहको वार्षिक कारोबार ४० अर्ब रुपैयाँ भन्दा धेरै छ । जय अम्बे स्टील्स अम्बे ग्रुपको दोस्रो स्टील उद्योग हो । २०७६ सालमा स्थापना भएको यो कम्पनीले विगत पाँच वर्षदेखि गुणस्तरीय स्टील उत्पादन गर्दै आएको छ । अहिलेको दैनिक उत्पादन क्षमता एक हजार टन रहेको कम्पनीले जनाएको छ ।