काठमाडौं । नेपाली कांग्रेसकी सांसद बासना थापाले प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सुनसरीको देवानगञ्ज नगरपालिका–३ कप्तानगञ्जमा भएको घटनाबारे सरकारसँग जवाफ माग गर्दै निष्पक्ष छानबिनको माग गरेकी छन् ।
सांसद थापाले घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिन् ।
उनले नेपालको विविधताभित्रको एकता राष्ट्रिय शक्ति भएको उल्लेख गर्दै कुनै पनि बहानामा साम्प्रदायिक द्वन्द्व फैलाउने प्रयास संविधान, लोकतान्त्रिक मूल्य र नेपाली समाजको आत्मामाथिको आक्रमण भएको बताइन् ।
नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्ने प्रश्न उठाउँदै उनले घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने र निष्पक्ष तथा विश्वसनीय छानबिन गर्नुपर्ने माग गरिन् ।
सांसद थापाले उक्त घटनापछि आफूलाई प्रधानमन्त्री बालेन्द्र शाहले विगतमा सामाजिक सञ्जालमा लेखेको टिप्पणी स्मरण भएको बताइन् । उनले प्रधानमन्त्रीको विगतको अभिव्यक्ति र वर्तमान मौनतामाथि प्रश्न उठाउँदै पद परिवर्तनसँगै व्यवहार पनि परिवर्तन भएको हो भन्ने जिज्ञासा व्यक्त गरिन् ।
उनले सन्तान गुमाउने पीडा सबै अभिभावकका लागि समान हुने उल्लेख गर्दै कप्तानगञ्ज घटनामा एक युवाको मृत्यु र दर्जनौँ नागरिक घाइते हुँदा पनि सरकार मौन बसेको आरोप लगाइन् । प्रधानमन्त्री र गृहमन्त्री दुवैको मौनताले सरकारको संवेदनशीलतामाथि प्रश्न उठेको उनको भनाइ थियो ।
थापाले नेतृत्व प्रशासन सञ्चालनमा मात्र सीमित नभई संकटका बेला राष्ट्रको मनोबल सम्हाल्ने दायित्व पनि भएको बताइन् । राज्य आफ्नै नागरिकको मृत्युमा मौन बस्दा न्याय प्रणालीप्रतिको विश्वास र राज्यप्रतिको भरोसा कमजोर हुने उनको भनाइ थियो । नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व भएकाले त्यसबाट सरकार कुनै पनि अवस्थामा विमुख हुन नहुने उनले उल्लेख गरिन् ।
उनले सम्पूर्ण नेपालीलाई पहिचानको साझा आधार नेपालीत्व, सहअस्तित्व र भाइचारालाई मजबुत बनाउन आग्रह गर्दै अफवाह, घृणाको राजनीति र सामाजिक विभाजनबाट टाढा रहन आह्वान गरिन् । नेपालको भविष्य हिंसामा नभई सहनशीलता, सद्भाव र राष्ट्रिय एकतामा रहेको उनको भनाइ थियो ।