खोजि गर्नुहोस..

ललितपुर–२१ मा ४ करोडको बजेटबाट ७७ वटा विकास योजना सञ्चालन हुँदै

Share our news

काठमाडौं । ललितपुर महानगरपालिका वडा नं. २१ ले चालु आर्थिक वर्षका लागि प्राप्त करिब ४ करोड रुपैयाँको बजेटलाई विभिन्न क्षेत्रका विकास तथा संरक्षण योजनामा विनियोजन गरेको जनाएको छ । वडाले पूर्वाधार विकास, लक्षित वर्ग, संस्कृति तथा सम्पदा संरक्षणलगायतका क्षेत्रमा करिब ७७ वटा कार्यक्रम तयार गरी नगरसभाबाट पारित गराइसकेको छ ।

वडा अध्यक्ष रविन्द्र महर्जनले पत्रकार सम्मेलनमार्फत वडाले स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा बजेट विनियोजन गरिएको जानकारी दिए । उनले पूर्वाधार निर्माणसँगै यहाँको मौलिक संस्कृति, सम्पदा र परम्पराको संरक्षणलाई विशेष प्राथमिकता दिइएको बताए ।

वडाले यस वर्ष स्वास्थ्य क्षेत्रमा समेत विशेष कार्यक्रम ल्याएको छ । नागरिकलाई स्वास्थ्यप्रति सचेत बनाउन तथा स्वास्थ्य सेवामा पहुँच बढाउन स्वास्थ्य बीमामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको वडा कार्यालयले जनाएको छ ।

वडाले सडक निर्माण तथा स्तरोन्नतिलाई मुख्य प्राथमिकतामा राखेको छ । योजना अन्तर्गत खोकना दोबाटोदेखि कार्य विनायक मन्दिर जाने मूल सडक निर्माण, खोकना दोबाटोदेखि बसपार्कसम्म पेटी तथा फुटपाथ निर्माण, ढोलाहिटी सडक ढलानलगायतका काम समेटिएका छन् ।

त्यसैगरी वडा क्षेत्रभित्र रहेका विभिन्न सडक विस्तार तथा सुधारका कार्यक्रम पनि समावेश गरिएको छ । सिजल सडक, रेल सडक, तौखल सडक, सिकली सडक, खोकना धनी सडकलगायतका सडक विस्तार तथा सुधारका योजनाहरू अघि बढाइने भएका छन् ।

खानेपानी व्यवस्थापनतर्फ साना खोकना डिप बोरिङ निर्माण तथा सञ्चालन, पाइपलाइन विस्तार, पुरानो बस्तीमा खानेपानी व्यवस्थापनलगायतका योजना राखिएका छन् ।

वडाले बागमती नदी तटबन्धन तथा भू–क्षय नियन्त्रणका लागि विभिन्न स्थानमा तटबन्ध निर्माण गर्ने योजना अघि सारेको छ । सिकली, दुवटी, भालुपा, नारायणघाटलगायतका क्षेत्रमा नदी नियन्त्रणसम्बन्धी काम गरिने उल्लेख छ ।

त्यस्तै, ढल निकास व्यवस्थापनका लागि विभिन्न स्थानमा ढल निर्माण तथा विस्तार गर्ने योजना राखिएको छ । खोकना सिमान क्षेत्रको ढल निकास, बसपार्क क्षेत्रको ढल निर्माण, घुम्ती सडक ढल निर्माणलगायतका कामहरू प्राथमिकतामा छन् ।

ललितपुर–२१ को ऐतिहासिक तथा सांस्कृतिक पहिचान जोगाउन सम्पदा संरक्षणका योजनाहरू पनि समेटिएका छन् । विभिन्न पाटी, ढुंगेधारा, मन्दिर, गुठी घर तथा धार्मिक स्थलहरूको पुनर्निर्माण र मर्मत सम्भार गरिने भएको छ ।

वडाले पाटी निर्माण तथा पुनर्निर्माणतर्फ न्ह्यौ पाटी, गाबु पाटी, कृष्ण पाटी, सिकली पाटी, गणेश पाटीलगायतका सम्पदाहरूको संरक्षण गर्ने योजना बनाएको छ ।

त्यस्तै, गुठी घर निर्माण तथा मर्मत सुधार, धार्मिक स्थल पूर्वाधार निर्माण, इनार संरक्षण तथा संवद्र्धनका कार्यक्रम पनि बजेटमा समावेश छन् ।

वडाले कृषि क्षेत्रअन्तर्गत मल उत्पादन, कृषि सामग्री तथा अन्य सहयोगसम्बन्धी कार्यक्रमलाई समेत बजेटमा समावेश गरेको छ । साथै महिला, ज्येष्ठ नागरिक, बालबालिका तथा अन्य लक्षित वर्गलाई लक्षित कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ ।

वडा कार्यालयले विकास निर्माणसँगै स्थानीय सम्पदा, संस्कृति र परम्पराको संरक्षण गर्दै नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य राखेको जनाएको छ ।